सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा आर्थिक सहयोग गर्नेदेखि छात्राहरुलाई साइकल वितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रुपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यो रकम गाउँपालिकाको आन्तरिक कोषबाट दिइने उनले बताए ।
सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने, कक्षा ५ देखि माथि पढ्ने छात्रालाई अनिवार्य रुपमा आत्मरक्षा तालिमको व्यवस्था गराउने, पालिका मातहतका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाए सञ्चालन गराउने चौधरीले प्रतिबद्धता जनाएका छन् ।
यस्तै, छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन विशेष पहल गर्ने, छिन्नमस्ता दर्शन गर्न आउनेका लागि सुविधा सम्पन्न धर्मशालाको निर्माण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक रुपले अशक्त व्यक्तिलाई घरमै कार्यालयको सेवा प्रवाह गराउने घोषणा पत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय नेता केशव झा, जयप्रकाश ठाकुर, शैलेश चौधरी, उपेन्द्र साहसहितको सहभागिता थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation