३१ असार २०८१, आइतबार

चिनियाँ नेता लीको आज उच्चस्तरीय भेटवार्ता, सुरक्षा व्यवस्था कडा

  • २८ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु मंगलबार पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्। 

चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यसूची रहेका छन्। त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन्। 

संसद भवनमै मंगलबार बिहान १० बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने छ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ। 

लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मंगलबार नै भेट गर्ने भएका छन्। बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा प्रधानमन्त्री देउवासँग आधा घण्टा वार्ता हुने बताइएको छ।

लीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। विमानस्थलमा लीको स्वागतका लागि सभामुख सापकोटा आफैं पुगेका थिए।

चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन्। लीको सुरक्षाका लागि भन्दै काठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर