काठमाडौं- सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ।
जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो।
शनिबार धनगढीमा चार दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताएका हुन्।
पाँच दलीय गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएपनि जसपाले कैलालीमा तोडेको हो। स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ।
केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो।
पछिल्लो पटक सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गर्दा रुष्ट भएको जनता समाजवादी पार्टीले आज अन्य दलहरूसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको हो।
लोसपाको जिल्ला अध्यक्ष कृष्ण चौधरी,जसपाको जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलालीका जिल्ला अध्यक्ष माधव थारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष केन्द्रीय उपाध्यक्षले सहमति पक्षमा हस्ताक्षर गरेका छन्।
वैशाख १ गते बसेको संयुक्त बैठकबाट आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको थियो।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation