काठमाडौं- सोमबार एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) माओवादीमा फर्केपछि बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेटेरका छन्।
प्रचन्डसँगको भेटमा उनले आफू परिबन्धमा परेर परेर बालकोट पुगेको प्रष्टिकरण दिएका छन्। डल्लाकोटीले एमाले छिरेपछि आफूलाई पार्टीका नेता, कार्यकर्ता र निर्वाचित गर्ने मतदाताले सुत्न पनि नदिएको गुनासो प्रचण्ड समक्ष गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
उनी मंगलबार नै क्षमायाचनासहित माओवादी फर्किएका हुन्। मल्लले डल्लाकोटीले व्यक्त गरेको कुरा उद्धृत गर्दै भने, ‘अध्यक्ष ज्यू केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन् सुत्न नि दिएनन्। म आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु।’
डल्लाकोटीले क्षमायाचना गरेपछि दाहालले उनलाई अब पार्टी काममा फर्किन निर्देशन दिएका छन्। दाहालले उनलाई भने, ‘गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस्।’
२०७४ सालको चुनावमा माओवादीका तर्फबाट अध्यक्ष जितेका डल्लाकोटी सोमबार धादिङ एमाले नेताहरु भूमी त्रिपाठी, पुष्प कँडेलसहित बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर प्रवेश गरेका थिए।

डल्लाकोटीलाई पार्टीमै फर्काएपछि उनलाई फेरि बेनिघाटको अध्यक्षको उम्मेद्वार बनाउने सुनिश्चित गरेर प्रचण्डले फर्काएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation