काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमाले मुलुकलाई अहिलेको राजनीतिक निकास दिनका लागि मिलेर जान सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राति बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको राजनीतिक गतिरोधलाई निकास दिने सहमति जुटेको हो।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक-पटक सहकार्य गरेको स्मरण गराएका थिए। कांग्रेस नेताहरुले संसदबाट एमसीसी अनुमोदन गर्ने विषय घरेलु प्रतिष्ठाको मात्रै नभएर मुलुककै अन्तर्राष्ट्रिय विश्वसनीयताको पनि विषय भएकोले सहमतिका लागि प्रस्ताव गरेका थिए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'हिजो प्रतिपक्षमा हुँदा एमसीसी ल्याउनुस पास गर्छौ भनेकै हो । राष्ट्रिय महत्वको कुनैपनि विषयमा हामीले प्रतिपक्षमा हुँदा पनि असहयोग गरेका थिएनौं। त्यसैले एमालेबाट पनि हामीले सहयोगकै अपेक्षा गरेका हौं। कांग्रेस र एमालेको राजनीतिक अनुभवका आधारमा जारी गतिरोधलाई अन्त्य गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाईमा एमाले अध्यक्ष ओलीजी सहमत भएका छन्।'
त्यसैगरी जवाफमा प्रधानमन्त्री ओलीले एमालेलाई संसद्मा बस्ने वातावरण मिलाइ दिन आग्रह गरेका छन्। ओलीको भनाइ उदृत गर्दै कार्कीले भने, 'हामी जुन कारणले संसद्मा भाग लिन सकेका छैनन्। त्यो कारण निराकरण नभई संसद्मा भाग लिनसक्ने अवस्था छैन।'
'सरकारले ल्याएको प्रस्तावलाई सत्ता पक्षमा नै मत विभाजन गरेर लाने परम्परा छैन। प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोलि कुनै पनि सरकारले ल्याएका प्रस्तावमा छलफल हुने छैनन्। बहुमत प्राप्त सरकारले ल्याएको प्रस्तावको छलफल भएन भने त्यो प्रतिनिधिसभाको के काम?,' कार्कीले प्रश्न गरे।
उनले एमसीसीका विषयमा शुक्रबार संसद्मा सैद्धान्तिक छलफल हुने र एमसीसी अनुमोदन हुने बताएका छन्। कांग्रेस र एमालेबीच बिहीबारै भएको यो दोस्रो पटकको छलफल हो। छलफलमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालुवाटार पुगेका थिए।
छलफलमा कांग्रेसको तर्फबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन्। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको हो।
यसअघि बिहीबारै एमाले नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए। तर भेटघाट सकारात्मक नभएको बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation