काठमाडौं- नेकपा (एमाले)बाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेत्री फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। महतो अखिल महिला सङ्घको सचिवालय सदस्यसमेत हुन्।
महतोलाई कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा नम्बर–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन्। सो अवसरमा महतोले भने मधेसको पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताइन् ।
जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उनले त्यो प्रमाणित गर्न पनि आफू मधेसको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताइन् ।
“मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन मधेसमै छन् र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै हो”, महतोले भनिन्। कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेसमा प्रवेश गरेकामा बधाई दिँदै मधेसका मुद्दालाई थप सशक्त ढङ्गले उठाइने प्रतिबद्धता जनाए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation