८ कार्तिक २०८३, शनिबार

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- सरकारले आगामी फागुन १ गते पर्ने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वि. सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको सरकारको निष्कर्ष छ।

गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका भन्दै बिदा दिन लागिएको हो।

जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर