८ कार्तिक २०८३, शनिबार

गठबन्धनले केशवलाई समर्थन गरेपछि फेरि सकसमा विष्णु पौडेल

  • ९ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- सर्वोच्च अदालतले रुपन्देही-२ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो सहज जित महसुस गरेका थिए। तर, बुधबार नयाँ ट्विस्ट आएको छ। 

रुपन्देही–२ मा प्रतिनिधि सभाका उम्मेदवार केशव थापालाई पाँचदलीय गठबन्धनले समर्थन गरेपछि फेरि एमाले उम्मेदवार पौडेललाई सकस भएको हो। एमालेमा आन्तरिक द्वन्द्व बल्झिनु, घनश्याम भूसालले पार्टी छोडेपछि एमालेका प्रभावशाली नेताहरुले भूसाललाई समर्थन गर्नु, एमालेले सरकारमा हुँदा गरेका गल्तीहरुबारे जनतासँग माफी नमाग्‍नुलगायतका चुनौती रहेका थिए। 

यससँगै गठबन्धनले थापालाई समर्थन गरेपछि पौडेल सकसमा परेका हुन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्ति पार्टीका थापालाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको हो। 

बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन्। 

प्रतिनिधि सभाका लागि रुपन्देही २ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए। यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार तीनपटक जितेको क्षेत्र हो। गठबन्धन भएपछि गुरुङले यो पटक पौडेललाई चुनौती दिने ठानिएको थियो।

तर, उम्मेदवार मनोनयन भएलगत्तै बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेका छ। उम्मेदवारविहीन भएको गठबन्धनले आज थापालाई समर्थन गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया

सम्बन्धित खवर