किभ- रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकामध्ये अधिकांश छिमेकी मुलुकमा पुगेका छन्।
त्यस्तै अन्य १ करोड मानिस भने आन्तरिक रूपमा विस्थापित भएका छन्। उनीहरू युक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ युक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो।
युक्रेनमा रुसले गत फेब्रअरी २४ देखि निरन्तर आक्रमण गर्दै आएको छ। आक्रमण र वार्ता अहिले पनि जारी छ। तर, वार्ताले नतिजा दिन सकेको छैन।
'पछिल्लो झन्डै चार हप्ता विश्वको ध्यान युक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रूपमा लिइएको छ,' यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation