काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन जाँदा स्थानीयहरुले प्रतिकार गरे। बिना कुनै विकल्प सुकुम्बासीहरुलाई उठिबास लगाउन पुगेका काठमाडौं महानगरपालिका नगर प्रहरीलाई स्थानीयहरुले हातपात गरे। १८ जना नगर प्रहरी घाइते पनि भए।
बिना विकल्प र योजना यसरी सुकुम्बासी बस्ती हटाउनु काठमाडौं महानगरको अपरिपक्वता भए पनि पार्टीका र धनाढ्यहरुले निहत्था नगर प्रहरीमाथि कुटपिट गर्नु अपराध नै हो।
बागमती सभ्यता अभियानको आग्रहमा थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको महानगरको टोलीमाथि आक्रमण गर्ने वास्तविक सुकुम्बासी मात्र नभएर केही धनाढ्य व्यक्तिहरु पनि संलग्न भएको पाइएको छ। महिला नगर प्रहरीमाथि हातपात गर्नेमध्येका एक जना नेकपा एमालेका नेता नारायण परिश्रमी रहेको पनि खुलेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेका परिश्रमीले महिला नगर प्रहरीलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्। काठमाडौंको कोटेश्वरमा घर भएको भनिएका उनीमाथि कारबाहीको माग भइरहेको छ। उनी र उनीजस्तै केही सुकुम्बासीको नाममा भएका 'हुकुम्बासी' को बोलावालाका कारण वास्तविक सुकुम्बासीहरु समस्यामा पर्ने भएका छन्।
यसअघि सुकुम्बासीको सूचीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पनि नाम रहेको पाइएपछि एमालेको चर्को आलोचना भएको थियो। बालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेलको पनि सुकुम्बासी सूचीमा नाम रहेको थियो।
अहिले फेरि एमालेमा आबद्ध रहेकाहरु नै महानगर प्रहरीमाथि आक्रमण गर्न थालेका हुन्। जसमा पूर्व सैनिक चन्द्र बहादुर लामा, बसुन्धारामा घर भएका अनुज श्रेष्ठ र कोटेश्वरमा घर भएका नारायण परिश्रमीहरु लगायत रहेको बताइएको छ।
उनीहरुको बचाउ गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सुकुम्बासी बस्ती हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गरे। ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’
ओलीले थपे, ‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनिहाल्नुभयो- प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौँ। त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा। त्यहाँ कुन शत्रु बसेका छन्?’
ओलीलाई बालेनको जवाफ - सुकुम्बासी तपाईंको भोट बैंक मात्र रहे
ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरु ओलीका लागि भोट बैंक मात्र भएको बताएका छन्। उनले हालसम्म पनि समस्या समाधान नहुनुमा ओली जिम्मेवार भएको पनि बताएका छन्।
उनले भनेका छन्, 'अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ। तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश्। तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन। तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation