८ कार्तिक २०८३, शनिबार

कार्यकर्तालाई शेखरले भने - शेरबहादुरजी र म नै मिलिसक्यौं, तपाईंहरु झगडा नगर्नुस्

  • ३१ असोज २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेका कारण कार्यकर्ताहरुलाई झगडा नगर्न आग्रह गरेका छन्। 

मोरङको सुन्दरहरैचा ५ मा कार्यकर्तासँग भएको छलफलमा नेता कोइरालाले शेरबहादुर र आफू एकै ठाउँमा उभिएको र कांग्रेस जिताउन लागिसकेकोले तुष नराख्‍न कार्यकर्तालाई आग्रह गरेका हुन्। 

कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्‍न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।

‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौ। मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने।

उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए।

‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने।

उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ समाप्त भइसकेको पनि बताए। 

‘लडाइँ शेरबहादुरजी र मेरो हो। तलबाट माथिसम्म। त्यो लडाइँ समाप्त भइसक्यो। शेरबहादुर र म एकै ठाउँमा उभिएका छौं,’ उनले भने, ‘म पटक-पटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु। मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ। तपाईंहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन। के को लागि लडेको? के पाउनुहुन्छ? केही पाउनुहुन्न।’

प्रतिक्रिया

सम्बन्धित खवर