९ कार्तिक २०८३, आइतबार

सुनसरी शाखाका अध्यक्ष अधिकारीको उत्कृष्ट काम, दुर्घटनामा परेकालाई एक लाख हस्तान्तरण

  • ११ भदौ २०७९, शनिबार
Image

इटहरी- नेपाल प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष पवन अधिकारीले दुर्घटनामा परेका सञ्‍चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको हातबाट शनिबार सञ्‍चारकर्मी दाहाललाई एक लाख हस्तान्तरण गरेका हुन्। 

रकम हस्तान्तरणपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे। ‘पत्रकारिता क्षेत्रमा संलग्‍न भइसकेपछि मसँग संस्था छ, मसँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो,' पोखरेलले भने। बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गर्नु महत्त्वपूर्ण रहेको उनले बताए।

प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसासमेत गरे। राज्यले पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने तर पत्रकारका समस्यामा लगानी गर्न नचाहेको उनको तर्क छ।  ‘पत्रकारलाई समस्या पर्दा अभिभावकत्व ग्रहण गर्न राज्य देखा पर्दैन,’ पोखरेलले भने, ‘पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्क बनाउनुपर्ने बाध्यता छ।’

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यक सहयोग गरेको स्मरण गरे। ‘हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, संगठन अपरिहार्य रहेछ, अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई पनि अनुभूति भयो,' दाहालले भने।

उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएकोसमेत जानकारी गराए। कार्यक्रममा सम्बोधन गर्दै युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्त्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए। 

‘हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्‍चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ,’ अधिकारीले भने, ‘एक साता अघि मात्रै दुर्घटनाबापतको डकुमेन्ट बुझाएका थियौँ, अर्का एकजना सञ्‍चारकर्मी पनि दुर्घटनाा पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ।’

उनले कोभिडकालमा ३० जना सञ्‍चारकर्मीलाई  कोभिड बीमाबापत ३० लाख रुपैयाँ हस्तान्तरण गरिएकोसमेत स्मरण गरे। दाहाल एक महिनाअगाडि सवारी दुर्घटनामा परी घाइते भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर