काठमाडौं - राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोकेका हुन्।
उनले समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए।
त्यसअघि अध्यक्ष तिमिल्सिनाले सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दीगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराएका थिए।
समिति हेरफेरसम्बन्धी अध्यक्ष तिमिल्सिनाको प्रस्तावलाई सभाले सहमति जनाएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार बस्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation