काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो।
भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत् यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताए।
उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गरे।
उनले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवालाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्वयनमा दुबै देशले अधिकतम लाभ लिनुपर्ने बताए।
उनले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको बताउँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा रहेको उल्लेख गरे।
मन्त्री वडूले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताए।
यसैगरी, मन्त्रीले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्प विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकाले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गरे।
भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैँ सकारात्मक रहेको बताए।
उनले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation