काठमाडौं- प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए। यसअघि, आजै दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले ३ बजेसम्मका लागि सारेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ। आज प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो।
सो छलफलमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार भएको भन्दै प्रधानमन्त्रीले आज बैठकमा जवाफ दिने तयारी गरेका थिए। तर, सभामुख घिमिरेले बैठकबारे छलफल गर्न प्रमुख सचेतकहरूसँग छलफल गरेपछि बैठक भोलिसम्मका लागि सरेको हो। प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा मागिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation