८ कार्तिक २०८३, शनिबार

माओवादी र नेकपा एसका नेताहरूलाई एमालेमा फर्कन पोखरेलको आग्रह

  • ७ साउन २०७९, शनिबार
Image

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता-कार्यकर्तालाई एमालेमा आउन आग्रह गरेका छन्।

कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आइपुगेका पोखरेलले बलियो कम्युनिस्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । नेकपा विभाजन पछिको नेकपाको निरन्तरता एमाले भएको पोखरेलको दाबी छ।

‘आज प्रचण्ड नेतृत्वको पार्टीभित्र नेकपा देखिन्छ कि देखिँदैन ? दैखिँदैन, त्यहाँ माओवादी मात्रै देखिन्छन्। माधवको पार्टीमा नेकपा देखिन्छन देखिँदैनन्, त्यहाँ एमाले मात्रै देखिन्छ,’ उनले भने, ‘एमालेलाई हेर्नुभयो भने नेकपा देखिन्छ। नेकपाको भावनाको नेतृत्व गर्ने पार्टीको रूपमा एमाले स्थापित भएको छ। अहिले माओवादी केन्द्रमा रहेका, एकीकृत समाजवादीमा रहेका साथीहरू प्रचण्डको, माधव नेपालको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस्,’ पोखरेलले भने ।

अभियान पूरा गर्नुपर्नेमा पोखरेलले जोड दिए। उनले हिजो नेकपामा हुँदा हरेक कदमको विरोध गर्ने प्रचण्ड र माधव अहिले ती सबै कुराको खुलेर सर्मथन गर्दै आइरहेको बताए। एमसीसीदेखि नागरिकता विधेयक पारितसम्मका घटनाक्रमले त्यो कुरा पुष्टि गरेको उनको भनाइ थियो।

‘हिजो नेकपा हुँदा जे भन्नुहुन्थ्यो, जुन मान्यतामा हुनुहुन्थ्यो त्यो मा किन उभिनुहुन्न ? माओवादी र समाजवादीमा लागेका साथीहरूले यी नेतालाई प्रश्न सोध्नुस्,’ पोखरेलले भने, ‘यो कारण के हो भने नेकपा विभाजन गर्नु मात्रै उहाँको सपना थियो । कसैको आदेश मान्नुपर्ने थियो । त्यसैले त्यो काम गर्नुभएको हो।’


प्रतिक्रिया

सम्बन्धित खवर