८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री र उद्योगमन्त्रीलाई आयल निगमको पत्र: पैसा नभए इन्धनको आपूर्ति नै रोकिन सक्छ

  • २० असार २०७९, सोमबार
Image

काठमाडौं- नेपाल आयल निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री र उद्योगमन्त्रीलाई चेतावनीसहितको पत्राचार गरेको छ।  सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो।

निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ।’

घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख छ।

निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको निगमका कार्यकारी निर्देशक थानीले बताएका छन। ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ,’ थानीले भने ‘सरकारलाई भनेका छौं अब जनताले पनि समस्या बुझिदिनुपर्छ।’ 

पत्रमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि उल्लेख गरिएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर