काठमाडौं- हुम्लामा लिमी लाप्चामा भएको चिनियाँ अतिक्रमणको विषय सेलाउन नपाउँदै फेरि गोरखाको अतिक्रमणको विषय चर्चामा आएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकाको १० गजा क्षेत्रमा चीनले एकपक्षीयरुपमा तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा दुई पक्षबीच सहमति हुनुपर्ने भए पनि नेपाल सरकार भने यस विषयमा अनविज्ञ छ भने जिल्ला प्रशासन कार्यालय पनि बेखबर छ।
गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्यले यस विषयमा कुनै जानकारी नभएको बताएका छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धितालले दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्।
चीनले दशगजा क्षेत्रमा नै तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि बन्द रहेको स्थानीय छिरिङ लामाले बताए। तार लगाएकै तीन वर्ष भएको उनको भनाइ छ।
सीमानाका नै तारबारले बन्द गरिदिएपछि अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। चीनले तारबार गरेर गेटमा ताल्चा लगाएको छ।
रुई भञ्ज्याङको वारपार हुने गरी तारबार गरेको हालै त्यहाँ व्यक्तिगत भ्रमण गरेर फर्केका एक सरकारी कर्मचारीले जानकारी दिए। चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि तारबार गरिएको थियो। तर, छेकम्पारका सामाजिक अगुवाहरूले दुईपक्षीय छलफल नगरी तारबार लगाइएको भनेर पटक–पटक बिरोध गरेपछि त्यसलाई हटाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने दुई देशीय सीमा क्षेत्रमा तारबारलगायतका संरचना बनाउँदा दुई देशीय सहमति जुटाउनुपर्ने तर्क गर्छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि दशगजा क्षेत्रभित्र संरचना बनाउँदा दुई देशबीच सहमति हुनुपर्ने बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation