३१ असार २०८१, आइतबार

राष्ट्रपतिमा एमालेलाई सघाउन ओलीले पठाए माधव नेपाललाई पत्र

  • १३ फागुन २०७९, शनिबार
Image

काठमाडौं- नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै एकीकृत समावादीलाई पत्र पठाएको छ।  


एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाएका हुन्।

उनले राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन अनुरोध गरेका छन्।

 ‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ।

शनिबार विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो। 

यता राष्ट्रपतिमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन्।

नेकपा एस सोही ८ दलीय गठबन्धनमा छ। नेकपा एसले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेको छ। अध्यक्ष नेपाल कांग्रेसका पौडेलको प्रस्तावक नै बसेका छन्।  राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ। 


प्रतिक्रिया

सम्बन्धित खवर