काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन्।
यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ।
भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले बताए।
‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारको नीति तथा कार्यक्रम र सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो। छलफल सकारात्मक भएको छ,’ गृहमन्त्री खाणले भने।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।
दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ। गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्।
बिहीबार मात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसद्मा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाण र कानुन मन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए।
सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी अगाडि बढाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation