१६ चैत २०८०, शुक्रबार

एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न बाबुराम र प्रचण्ड सहमत

  • २९ साउन २०७९, आइतबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन्।

आइतबार प्रचण्ड र भट्टराई पक्षबीच भएको छलफलमा आगामी चुनावमा एउटै चुनाव चिह्न र घोषणा पत्र बनाएर जानेबारे मौखिक सहमति नजिक पुगेको नेपाल समाजवादी पार्टीका प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए।

दुई पार्टीको केही विषय अझै मिल्न बाँकी रहेकाले सोमबार फेरि बैठक बसेर अन्तिम घोषणा गर्ने तयारी रहेको उनले बताए। नेपाल समाजवादी पार्टीको आँखा चुनाव चिह्नलाई होल्ड गरेर माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा जान डा. भट्टराई सहमत भएका छन्।

२०७२ मा संविधान जारी भएपछि डा. भट्टराईले माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी बनाएका थिए । त्यसलाई उनले जनता समाजवादी पार्टीसँग एकीकरण गरेका थिए।

केही समय अघि डा. भट्टराई पक्ष जनता समाजवादी पार्टी उक्त पार्टीबाट बाहिरिने भएपछि अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए।

त्यसपछि डा. भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका थिए । निर्वाचन आयोगलाई माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको एउटै चुनाव चिह्न राख्नेबारे जानकारी गराउने र सोहीअनुसार दल दर्ता गर्ने सहमति भएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर