८ कार्तिक २०८३, शनिबार

मोर्चा बनाएर एकै चुनाव चिह्‍नमा लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव, प्रचण्डको जवाफ - माधव नेपाललाई सोध्‍नुपर्छ

  • २६ साउन २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा उनीहरुबीच एक घण्टा भेटवार्ता भएको हो। मोर्चा निर्माण गरी एकै चिह्नमा चुनाव लड्ने प्रस्ताव गरेका छन्। बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बताएको छ। 

‘प्रचण्डजीसँग डा. सापको भेट भएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘एक घन्टा चलेको भेटमा एकता, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल भयो, फेरि समय मिलाएर बस्ने कुरा भएको छ।’

 नेपाल समाजवादीलाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो। 

माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको छलफलमा बाबुरामले गरेको मोर्चा निर्माणसम्बन्धी प्रस्तावमा सकारात्मक रहेको बताउँदै प्रचण्डले यसबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गर्ने जवाफ दिएका छन्। स्रोतका अनुसार पाँच दलको गठबन्धन भएकाले यसबारेमा कांग्रेससँग पनि सल्लाह गर्नुपर्ने कुरा प्रचण्डले उक्त छलफलमा राखेका थिए।

'उहाँ (बाबुराम) को प्रस्ताव एउटै मोर्चा बनाइ एकै चुनाव चिह्नमा लडौँ भन्ने छ। यसबारे अध्यक्ष (प्रचण्ड) ले माधव नेपालसँग सल्लाह गरौँला भन्नु भएको छ', स्रोतले भन्यो, 'कांग्रेससँग पनि सल्लाह गरेर यसबारे एउटा निष्कर्षमा पुग्न सकिन्छ।' 

प्रचण्डले डा. भट्टराईलाई गठबन्धनमा सहभागी गराउने कुरामा पनि आफू सकारात्मक रहेको बताएका छन्। भट्टराईले मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुरलाई भेटेर गठबन्धन बनाउन आफ्नो भूमिका रहेकाले समेटेर लैजान आग्रह गरेका थिए। 

बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै डा. भट्टराईले आफू योग्य युवा उम्मेदवार आए गोरखा क्षेत्र नम्बर २ छाड्न तयार भएको बताएका थिए। बिहीबारै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दैछ। बिहीबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको छ। आजै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दैछ। बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको छ।




प्रतिक्रिया

सम्बन्धित खवर