काठमाडौँ । पहिलो स्थानीय तह निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको रुकुमपूर्वमा यसपटक पुरानो नतिजा दोहोर्याउन माओवादी केन्द्र असफल भएको छ।
जिल्लाका तीनमध्ये एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवारले विजय हासिल गरेपछि माओवादी रुकुमपूर्वमा ‘क्लिन स्वीप’ नतिजा दोहोर्याउन असफल भएको हो।
२०७४ मा माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्ष दुबै जितेको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएपनि उपाध्यक्षमा भने एमालेका गोपाल रेउलेले बाजी मारेका छन्।
कांग्रेस–एमालेको गठबन्धनको तर्फबाट एमालेका रेउले ३ हजार ७ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्। पराजित माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मेदवार आस्था बिकले ३ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन्।
गाउँपालिका अध्यक्षमा विजयी माओवादी केन्द्रका रेग्मीले ३ हजार ७ सय ७९ प्राप्त गरेका छन् भने कांग्रेस–एमाले गठबन्धनबाट पराजित कांग्रेस अध्यक्षका उम्मेदवार दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गरेका छन्।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भने माओवादी केन्द्रले अध्यक्ष–उपाध्यक्ष दुबैमा विजय हासिल गरेको छ भने भूमे गाउँपालिकामा पनि विजयको सन्निकट छ।
पुथा उत्तरगंगामा विजयी माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार पुनराज घर्तीले ३ हजार ९ सय १३ र उपाध्यक्षमा विजयी भूपेन्द्रा बुढाले ४ हजार ४९ मत प्राप्त गरेका छन्।
अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार १ सय १३ र उपाध्यक्षमा कमलाकुमारी मल्लले २ हजार १० मत प्राप्त गरेका छन्।
भूमे गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार जारी मतगणनामा निकै मतान्तरले अगाडि छन्। माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार होमप्रकाश श्रेष्ठ २ हजार ४ सय ६४ मत सहित अग्रस्थानमा छन्।
माओवादी केन्द्रका श्रेष्ठलाई यहाँ मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले २ सय ४५ मतका साथ पछ्याइरहेका छन्।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सविना बुढा २ हजार ४ सय ४९ मतका साथ अगाडि छिन् । उनलाई एमालेका कमानसिंह डाँगी क्षेत्रीले ६ सय ४९ मतका साथ पछ्याइरहेका छन्।
२०७४ मा माओवादी केन्द्रले अध्यक्ष–उपाध्यक्ष दुबैमा ‘क्लिन स्वीप’ गरेको रुकुम पश्चिम र एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा यसपटक दुबै पार्टीले पुरानो नतिजा दोहोर्याउने सम्भावना छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation