काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन्। कागेश्वरी-मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उनले झण्डै दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।
“कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हकअधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो”, उनले भने।
पार्टीका पूर्वमहामन्त्री सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै कांग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे। संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण कांग्रेसले निर्माण गर्ने उनको भनाइ छ।
नेता सिंहले सिंहदरबारको अधिकार स्थानीय तहमार्फत घरघरमा पुगेको भन्दै घरघरमा पुगेर जनताको सेवा बुझ्ने स्थानीय जनप्रतिनिधि स्थानीय सरकारले खोजेको बताए। उनले घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्नसमेत पार्टीका उम्मेदवारलाई आग्रह गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation