काठमाडौं- निर्वाचन आयोगले संघ र प्रदेश सभाको निर्वाचन यही मंसिरमा हुने गरी तयारी थालेको छ। निर्वाचनमा सहभागी हुन आयोगमा २ पटक राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।
चुनावमा भाग लिन निर्वाचनको मिति घोषणा पूर्व नै दल दर्ता भइसकेको हुनु पर्दछ। मिति घोषणा भइसकेपछि पनि निर्वाचनमा भाग लिन चाहने दलहरू पुनः दर्ता हुनुपर्दछ। कुनै पनि नयाँ दल दर्ताका लागि ४५ दिनको समय दिइएको हुन्छ। डेढ महिनाको समयावधिमा आवश्यक कागजात बुझाएर दल दर्ता गर्न सकिने व्यवस्था छ।
निर्वाचनको मिति घोषणा हुनु पहिले नै यदि कुनै नयाँ दल दर्ताको प्रक्रियामा रहेको बेला निर्वाचनको मिति घोषणा भए सो दलले निर्वाचनमा भाग लिन पाउँदैन। त्यस्तो अवस्थामा आयोगले संक्षिप्त तरिकाले कागजात मागेर दल दर्ता गर्न सक्ने निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
निर्वाचनको मिति घोषणा हुन लाग्यो भने आयोगमा दर्ता प्रक्रियामा रहेका दल दर्ताको काम द्रुत गतिमा गर्ने व्यवस्था मिलाउन आयोगले सकारात्मक भूमिका खेल्ने उनको भनाई छ।
निर्वाचन आयोगमा हाल रवि लामिछाने सभापति रहेको दल दर्ता प्रक्रियामा रहेको छ भने वामदेव गौतमले घोषणा गरेको पार्टी दर्ताका लागि जाने क्रममा रहेको छ। आयोगमा हाल १ सय १२ राजनीतिक दल दर्ता भएको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।
नयाँ दल दर्ता गर्न के के कागजात चाहिन्छ ?
–विधान २ प्रति,
–नियमावली २ प्रति,
–घोषणापत्र २ प्रति,
–झण्डा,
–लोगो,
–छाप,
–चुनाव चिन्ह,
–मतदाता नामावलीमा नाम रहेका ५ सय जनाको हस्ताक्षर,
–राजनैतिक दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना,
–राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
–राजनैतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण,
–विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
–विधान वा नियमावलीमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
–विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलितलगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरुसमेत रहने समावेशी व्यवस्था,
–दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था,
–केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समितिको चयन, विधान पास गर्ने, झण्डा, लोगो कुन राख्ने, चुनाव चिन्ह कुन रोज्ने निर्णय हुनुपर्ने,
–केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि,
–निवेदन दर्ताको लागि सो निवेदनमा सबै केन्द्रीय समितिका पदाधिकारीहरूले हस्ताक्षर हुनुपर्ने,
–निवेदन, विधान, नियमावली र घोषणापत्रका प्रत्येक पृष्ठमा केन्द्रीय समितिका सबै पदाधिकारीको हस्ताक्षर हुनुपर्ने,
–दलको प्रत्येक तहको कार्यकारिणी समितिको गठन विधि र पदावधिको व्यवस्था हुनुपर्ने,
–दलको पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया,
–दलको विधान संशोधन सम्बन्धी प्रक्रिया,
–दलको विघटन सम्बन्धी व्यवस्था लगायतका कागजात।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation