काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबनेको भए 'भ्यू टावर' बनाउने सोच नै नआउने बताएका छन्।
विकासको नाममा अनावश्यक भ्यू टावर बनाउने काम भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेलामा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ मा आज भ्यू टावर उद्घाटन गर्दै यस्तो बताएका हुन्।
उनले भने, 'एमालेको सरकार बन्दैनथ्यो भने यतिको भ्यू टावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच आउने थिएन। किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए।'
ओलीले एमाले सरकार आएपछि देशमा विकास हुने गरेको बताए। 'हामी सरकारमा आएपछि देशभरिमा के भयो, देशको अवस्था।
भारतबाट मात्रै निर्भर भइरहेको ठाउँमा चीनतिरबाट यातायात पारवाहन सन्धि सम्झौताहरु गर्ने, आवागमन दुवैतिरबाट खोल्ने, नाकाहरु खोल्ने। अहिले उत्तरका जिल्लाहरू पनि दुर्गम रहेका छैनन्। दुर्गमलाई पनि हामीले सुगम बनाएका छौँ', उनले भने।
तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) मा निर्माण भएको भ्यू टावर नगरपालिका र वन बिहारको संयुक्त लगानीमा साढे ११ करोडमा तयार भएको हो।
२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यू टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यअवलोकन जनाइएको छ। १० तले भ्यू टावर १ सय ३४ फिट उचाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation