काठमाडौं- स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ।
बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै सहप्रवक्ता सूर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र छाप्ने जानकारी दिए।
मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए। यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइनसकेको उनले जानकारी दिए।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरूको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको पिन अर्यालले जानकारी दिए।
यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ।
यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरूको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation