काठमाडौं- यही चैत १२ गते चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका छन्। त्यसअघि नै एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमण जाँदै छ। हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।
चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा जान लागेको हो।
उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ। उनीहरु सीपीसीको निमन्त्रणामा जान लागेका हुन्।
पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो। यसअघि एमाले र सीपीसीबीच भ्रमण आदनप्रदानका कार्यक्रमहरु हुने गर्थे। पछिल्लो समय नेपालमा अमेरिकासँगको एमसीसी सम्झौताको विषयलाई लिएर चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation