लमजुङ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन्।
लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए।
“गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु”, उनले भने, “गठबन्धनको जीत सुनिश्चित छ।”
शान्ति प्रक्रिया टुङ्ग्याउने,जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने,निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको प्रचण्डले बताए। मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ।
“यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ”, प्रचण्डले भने, “यसका लागि कैयनको ज्यान गएको छ, म उनीहरुलाई सम्मान गर्न चाहन्छु ।”
मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै प्रचण्डले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने दाबी गरे। उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए।
प्रचण्डले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए। त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए। त्यस्तै, मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत प्रचण्डको दावी छ।
त्यस्तै, नेपाली कांग्रेसका नेतारामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए।
आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation