८ कार्तिक २०८३, शनिबार

युक्रेन-रुस तनावको दोस्रो दिन : बिहानै किभमा खसालियो रुसी जहाज, युद्ध रोक्‍न फ्रान्सको आग्रह

  • १३ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं- युक्रेनमाथि रुसले आक्रमण गर्दा हालसम्म १३७ युक्रेनी सेना र सर्वसाधारणको मृत्यु भएको छ। रुसले गरेको आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शनहरु भएका छन्। विरोध प्रदर्शनमा हजारौँ नागरिक सडकमा ओर्लिएका हुन्।  राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।

रुसी सहरहरूमा बाहेक विश्वका अन्य कैयौँ शहरमा पनि युद्धको विरोधमा प्रदर्शन गरेका छन्। सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्।

रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन्।

सीएनएनको एउटा टोलीका अनुसार शुक्रबार बिहानै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।  राजधानी किएभमा शुक्रवार एउटा रुसी विमान खसालिएको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले बताएका छन्। सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको एन्टोन हेराश्चेन्कोले बताए।

किएभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा छजना मारिएका छन्।

युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्‍न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका बीबीसीले जनाएको छ। 

त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ। रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुन: आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्। उनका अनुसार हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।

युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ। यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसंग अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ। जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ। रुसमाथि अमेरिका, बेलायतलगायतका मुलुकहरुले प्रतिबन्धको घोषणा गरेका छन्। युरोपियन युनियनले पनि रुसमाथि कडा प्रतिबन्ध लगाएको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गर्दै युद्ध रोक्न आग्रह गरेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर