काठमाडौं- मन्त्री बन्नका लागि दुई करोड माग गरेको अडियो सार्वजनिक गरेपछि सांसद् पदबाट नरहने गरी कारबाही गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठका विषयमा कारबाही पुष्टि हुने कागजात भने अझै संसद् सचिवालयलाई बुझाएको छैन।
रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावमा असर पर्ने भन्दै तत्काल ढाकालाई सांसद् पद नै नरहने गरी कारबाही गरेको पत्र संसद् सचिवालयलाई पठाए पनि कारबाही पुष्टि हुने प्रमाणसहितका कागजात भने दिन सकेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले गत चैत ३० गते संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई सम्बोधन गरी सांसद श्रेष्ठलाई पार्टी सदस्यबाट कारबाही गरिएकाले उनको ठाउँमा अर्को सांसद चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको थियो।
रास्वपा संसदीय दलका नेता अर्यालले पठाएको उक्त पत्रकै आधारमा कारबाहीको कारण नखुल्ने, राजनीतिक दलसम्बन्धी ऐनको एवं संविधानमा व्यवस्था गरिएको सांसद पद रिक्तको व्यवस्था पूरा हुने किन नहुने भन्नेबारे संसद् सचिवालयले छलफल गरेको थियो। छलफलबाट रास्वपालाई थप कागजपत्र पठाउन भनिएको थियो। तर, रास्वपाले हालसम्म पनि थप कागजात नबुझाएको संसद् सचिवालय स्रोतले जानकारी दियो।
संसद् सचिवालयले सांसद श्रेष्ठलाई कारबाही गरेका निर्णय पत्रका प्रतिलिपी, पार्टीको निर्देशन वा ह्वीप उलंघन गरेको भए ह्वीपको प्रतिलिपी, ह्वीप उल्लंघन गरेकोमा स्पष्टिकरण सोधेको पत्र र त्यसको जवाफको प्रतिलिपी, जाँचबुझा समितिको निष्कर्षसहितको प्रतवेदन र उक्त प्रतिवेदनमाथि पार्टीले गरेको निर्णयको प्रतिलिपी, पार्टीको विधानको प्रतिलिपी र पार्टी सदस्य समेत नरहने गरी भएको निर्णयको प्रतिलिपी लगायत कागजात पेस गर्न संसद् सचिवालयले भनेको थियो।
तर, रास्वपाले कारबाही गरेका ढाकाले आफूले कोर टिमका विषयमा मुख खोल्ने बताएपछि उनलाई कारबाही पुष्टि हुने कागजात बुझाउन आलटाल गरिरहेको छ। रास्वपाले गत चैत ३० गते सांसद श्रेष्ठलाई कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाएपनि वैशाख ३ गते मात्रै दर्ता भएको थियो। उक्त पत्र प्रक्रिया पुगेको हुनुपर्ने तथा पत्रसँगै अन्य कागजात पनि संलग्न गर्नुपर्नेमा रास्वपाले संलग्न गरेको थिएन। पत्र दर्ता भएको १५ दिनभित्र सभामुखले सांसद पद रिक्त हुने वा नहुने निर्णय सदन सुनाउने वा सुचना टाँसेर जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने रास्वपाले सांसद श्रेष्ठको पद रिक्त भएको भनेर पठाएको पत्र प्रक्रियामा रहेको बताएका छन्। संसद् सचिवालयले अध्ययन गरेपछि सभामुख देवराज घिमिरेकहाँ पेस हुने उनले जानकारी दिए।
रास्वपाको केन्द्रीय समितिले गत चैत ३० मा श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उनको ठाउँमा समानुपातिक सूचीमा नाम रहेकी बिन्दाबासिनी कंशाकारलाई सांसद सिफारिस गर्ने निर्णय पनि गरिएको थियो।
श्रेष्ठले पार्टीको कोर टिमलाई साढे २ करोड बुझाएमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation