काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, “संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ। नेपालका सबै कम्युनिष्ट पार्टीबीच यस विषयमा छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।”
भेटमा नेकपा (बहुमत)का नेताहरूले प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए।
प्रधानमन्त्रीले भने, “राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिवद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।” उनले जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको बताए।
यसअघि नै अध्यादेशमार्फत् विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकाले यो विषयमा अब संसदबाट नै विधेयक पास गर्ने उनको भनाइ छ। सो अवसरमा नेकपा(बहुमत)का नेता बास्तोलाले बन्दी अवस्थामा रहेका नेता कार्यकर्ताको रिहाइ, जनजीविकाका सवालमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
प्रधानमन्त्रीले ज्ञापनपत्रका उल्लेख भएका अधिकांश विषयको सम्बोधनका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation