काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको छ।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो।
आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको सोमबार ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।
“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने।
डा भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थाल्नुभएको दाजु मीनप्रसादको भनाइ थियो। अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन्। सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation