काठमाडौं- कर्णाली प्रदेशसभाको सभामुख पदमा नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित भएकी छन्। प्रदेशसभाको आइतबार बसेको बैठकमा सत्तारुढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
गुरुङलाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सांसदले मतदान गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसदहरू मत विभाजन प्रक्रियामा सहभागी भएका थिए।
सभामुखको रुपमा बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्ट र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही मत विभाजन प्रक्रियामा सहभागी भएनन्।
प्रदेशसभा सदस्य गुरुङलाई कर्णाली प्रदेशसभाको सभामुख पदमा निर्वाचन गरियोस् भन्ने एमालेका यामलाल कँडेलको प्रस्तावमा माओवादी केन्द्रका नेता राजकुमार शर्माले समर्थन गरेका थिए।
प्रदेशसभाका बहुमत सदस्यको मत परेकाले ज्येष्ठ सदस्य विष्टले गुरुङलाई प्रदेशसभाको सभामुख पदमा निर्वाचित भएको घोषणा गरेका थिए।
नेपाली कांग्रेसले खड्गबहादुर पोखरेललाई सभामुखको रुपमा अघि सारेको थियो। पोखरेललाई कांग्रेसका १३ र नेकपा (एकीकृत समाजवादी) १ गरी १४ सांसदले मतदान गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation