१६ चैत २०८०, शुक्रबार

नयाँ पुस्तालाई राजनीति सुम्पिएर माधव नेपालले सन्यासी बने हुन्छ : योगेश भट्टराई

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले सन्यास लिएर बस्न सुझाव दिएका हुन्। केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए।

उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे। सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति,पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न सुझाव दिए।

भट्टराईले मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्योभन्दा धेरै मुख छाड्न आउने बताए। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरु दास बनेको टिप्पणी गरेका थिए ।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरुलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति,पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन’ उनले भने, ‘माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन। उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ।’

नेता भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर