८ कार्तिक २०८३, शनिबार

शेखर-गगनबीच संवादहीनता, दलको नेतामा शेखर आफैं लड्न‍े भएपछि तनावमा गगन

  • १ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- निर्वाचन आयोगले आम निर्वाचनको नतिजासहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि अब संसदीय प्रक्रिया सुरु हुने भएको छ। दलहरुले पनि आफ्नो दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा प्रतिस्पर्धा गर्ने बताइएको छ। 

महामन्त्री गगनले आफूलाई नेता शेखरले पनि सहयोग गर्ने अपेक्षा गरेका थिए। तर, डा. कोइरालाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेपछि गगन तनावमा परेका हुन्। 

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं दाबेदार हुन् भने शेखर समूहका महामन्त्री गगनकुमार थापाले चुनावताका नै दलको नेता लड्ने घोषणा गरेका थिए। डा. शेखरले औपचारिक रुपमा त केही बोलेका छैनन्, तर समूहका नेताहरुसँग हुने आन्तरिक भेटघाटहरुमा दलको नेता लड्ने प्रष्ट संकेत दिएका छन्। एक नेताका अनुसार ‘तपाईँ के गर्नुहुन्छ’ भन्ने प्रश्नमा डा. शेखरले शेरबहादुरलाई दलको नेता लड्छु भनिसकेँ भन्ने गरेका छन्।

शेखर समूहबाट धनराज गुरुङ उपसभापति, गगन महामन्त्री, जीवन परियार र बद्री पाण्डे सहमहामन्त्री चुनिएका छन्। उनीहरुसहित समूहका नेताहरुले शेखरलाई नै समूहका नेता मान्दै आएका थिए। महामन्त्री गगन लगायतका पदाधिकारीहरुले कार्यसम्पादन समिति गठनदेखि टिकट वितरणसम्म डा. शेखरसँग परामर्श गरेका थिए। तर पछिल्लो समय संवाद नै हुन छाडेको छ। चुनावपछि महामन्त्री गगन, शेखरलाई भेट्न उनकै निवास पुगेका थिए।

दलको नेताबारे फेरि छलफल गर्ने भन्दै उठेका दुई नेताबीच फेरि सम्वाद नै हुन सकेको छैन। सहमतिको पक्षमा रहेका शेखर समूहका एक नेता भन्छन्, ‘महामन्त्री गगन आफैं डा. शेखर कहाँ गएर २-४ चोटी छलफल गरे भयो। उहाँले पनि बोलाएर छलफल गरे हुने हो, तर सम्वाद नै छैन।’

नेताहरुका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चितजस्तै छ। ‘हार्ने चुनाव’ मा को उम्मेदवार हुने भन्ने विवाद गर्ने हो भने १४औं महाधिवेशनबाट बनेको यो समूहको नाश मात्र हुने भन्दै केही नेता सहमति खोज्न भन्दै दौडधुप गरिरहेका छन्। सांसदहरुलाई भेट्दै आएका एक नेता भन्छन्, ‘१५ औं शेखरलाई सभापतिमा अघि सार्ने घोषणा गर्न लागाउने र संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने हाम्रो प्रस्ताव छ।’

गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद पनि गरेका छन्। तर सहमतिको संकेत देखिएको छैन। शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन्।

समूहका नेताहरुसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रुपमा अघि सारेकोमा असन्तुष्ट नेताहरु गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट छन्। ‘हाम्रो ट्रेन हिँड्यो, बस्ने भए आउनुस्, नभए छुट्यो भन्ने जुन शैली ठीक भएन,’ शेखर निकट एक नेता भन्छन्।

उनीहरु गगनको अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बढ्दो समिप्यतालाई लिएर समेत प्रश्न गर्छन्। गगनले दलको नेता लड्ने घोषणा गरेपछि शर्माले सार्वजनिक रुपमै समर्थन गरेका छन्। झापा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित शर्माले गगन प्रस्तावक नै बस्ने बताउने गरेका छन्। त्यसमा प्रश्न गर्दै शेखर समूहका एक नेता भन्छन्, ‘गगन नै दलको नेता लड्ने भए शेखर कोइराला प्रस्ताव बस्ने होला, धनराज गुरुङहरु बस्ने होला, विश्वप्रकाश होइन।’

उनीहरुका अनुसार अब महामन्त्री गगन आफ्नो निर्णयमा पुनर्विचार गर्न तयार हुने हो भने सहमति खोज्न सकिन्छ। नभए डा. शेखरले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने छन्।


प्रतिक्रिया

सम्बन्धित खवर