३१ असार २०८१, आइतबार

सिट बाँडफाँटमा गगन र शेखरबीच नै लफडा!

  • २१ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु सिफारिस भइरहेका छन्। सत्ता गठबन्धनको भागबण्डा टुंग्याउने चटारो परेको समयमा शेखर कोइरालालाई भने चौतर्फी संकट देखिएको छ। 

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइराला अहिले आफ्नो क्षेत्र मोरङ–६ मा केन्द्रित हुन थालेका थिए। ०७४ को निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरमा पराजित भएपछि कोइरालालाई पार्टी राजनीतिको आन्तरिक प्रतिस्पर्धामा मात्रै असर परेन, राष्ट्रिय राजनीतिमा समेत भूमिका खुम्चियो।

कांग्रेसमा शेखर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी हुन्। आठ महिनाअघि पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व लिन देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भयो। ६० प्रतिशत मतसहित देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिए। 

अहिले कोइरालाले पाएकै मत प्रतिशतको हाराहारीको हैसियत देउवासँग माग गरिरहेका छन्। पार्टीमा आफूले भागबन्डा नखोज्‍ने उद्घोष गरेका शेखर पनि ८ महिनामा नै ४० प्रतिशत हिस्सा माग्‍ने स्थानमा आइपुगेका छन्। 

यति मात्र नभइ उनको समूहबाट पार्टीको महामन्त्रीमा जितेका गगन थापालेसमेत शेखरसँग भागबण्डा मागेपछि शेखर तनावमा आएका हुन्। यसको उदाहरण नेविसंघ र तरुण दल हुन्। शेखर र गगनबीचको भागबण्डा नमिल्दा भ्रातृ संगठनहरु विस्तारमा सकस भइरहेको छ। देउवाले दिने ४० प्रतिशतमा पनि गगनले शेखरभन्दा बढी भाग माग्‍न थालेका हुन्। 

अर्को उदाहरण बन्‍यो सर्लाही क्षेत्र नमबर ४। यस क्षेत्रबाट बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भयो। उनी सर्लाही ४ मा चुनाव लड्न नजाने निश्चित हुँदाहुँदै एकल नाम सिफारिस गरिएको हो।

डा.अमरेश कुमार सिंह विरोधी जिल्ला पार्टी नेतृत्वले उनले टिकट नपाउन भनेर यो ‘स्टन्ट’ गरेको स्थानीय कांग्रेसका नेता कार्यकर्ता बताउँछन्। ‘अमरेशजीलाई रोक्न मात्र यो स्टन्ट गरिएको हो,’ कांग्रेस ४ नम्बर क्षेत्रका एक नेताले भने, ‘पार्टीको अधिवेशनमै अमरेशजी विरोधीले बुथ क्याप्चर गरेर एकलौटी प्रदेश र क्षेत्रीय समिति बनाएको थियो। त्यो समितिले एकलौटी निर्णय गर्नु स्वभाविक नै हो।’

अमरेश डा.शेखर कोइराला समूहका नेता हुन्। उनलाई रोक्‍नका लागि गगन थापा सिफारिस भए। कोइराला समूहभित्र रहेका गगन थापाको एकल सिफारिस गर्दा अमरेशलाई त्यसको प्रतिवाद गर्न कठिन हुने देखेर त्यसो गरिएको अमरेश पक्षको भनाइ छ।

जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह ४ नम्बर क्षेत्रमा अमरेश सिंहलाई कुनै हालतमा टिकट नदिन कम्मर कसेर लागेका छन्। उनले कुनै हालतमा अमरेश सिंहले टिकट नपाउन भन्ने एकमात्र उदेश्य राखेर निकै अघिदेखि मेहनत गरिरहेका छन्।

सुरेन्द्र सिंह पनि गगन थापा चुनाव लड्न सर्लाही क्षेत्र नम्बर ४ मा आउँछन भन्ने ठान्दैनन्। जिल्ला समितिसँग दूरी भएकाले अमरेश पनि यो अवस्था आउन सक्छ भनेर संशकित थिए। त्यही भएर उनी करिब दुई साता आफ्नो क्षेत्रमा निकै सक्रिय भएका थिए। उनी निर्वाचन क्षेत्रमा खटिएपछि जिल्ला नेतृत्व बढी त्रसित भएको हो। मतदाता र कार्यकर्ता अमरेशको पक्षमा खुलेकाले उनलाई टिकटमै राक्न सुरेन्द्र सिंह सक्रिय भएका हुन्।

लगातार संघीय सांसदमा कांग्रेसको तर्फबाट जितेका अमरेशको नाम किन सिफारिस भएन भन्ने सुरेन्द्रले स्पष्ट पार्न सकेनन्। उनले जनताले नै गगन थापा आउनु पर्छ भनेकाले एकमात्र नाफ सिफारिस गरिएको भनेर टारे। आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो। सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ।

यस्तै सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ। सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए। (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार/पाँच जनाको नाम सिफारिस गरेको छ।

यसपटक शेखरले एकातिर आफ्नो समूहका नेताहरुलाई धेरै भाग दिन देउवासँग, गगनलाई आफैंसँग राख्‍न उनको चित्त बुझाउनुपर्नेछ भने अर्कोतर्फ आफ्नै निर्वाचन क्षेत्रमा जित हात पार्न पनि सकस नै देखिन्छ। 

भाग नमाग्‍ने प्रतिबद्धता गरेका शेखर र गगनबीच भागबण्डाको लडाइँ, भ्रातृसंस्था भद्रगोल

शेखर-गगनले पनि लाज पचाए : गुट सक्रियता तीव्र, खोजे ६०-४० को भागबण्डा


प्रतिक्रिया

सम्बन्धित खवर