८ कार्तिक २०८३, शनिबार

एसपीपी राष्ट्रको हितमा छैन, अघि बढाउन सकिँदैन : महामन्त्री शर्मा

  • ४ असार २०७९, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) राष्ट्रको हितमा नभएकाले अघि बढाउन नसकिने बताएका छन्। नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त  प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको बताए।

कांग्रेस नेतृत्वको सरकारले मुलुकको हित विपरीतका यस्ता कुनै प्रकारका सन्धी, सम्झौता नगर्ने शर्माको भनाइ छ। उनले केपी ओली नेतृत्वको सरकारकै पालामा एसपीपी अघि बढेको पुष्टि भएको दाबी गरेका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्‌मा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको उल्लेख गरे।

उनले कूटनीतिक मर्यादा विपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे। महामन्त्री शर्माले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए।

उनले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार। भारतले सहयोग गरोस् हामी लिन तयार। अमेरिकाले सहयोग गरोस् हामी लिन तयार। तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार। हामीले चीनसँग बीआरआई गर्दैगर्दा, अमेरिका रिसाउला कि भन्ने चिन्ता गरेनौं। अमेरिकासँग एमसीसी गर्दैगर्दा चीन रिसाउला कि हामीले चिन्ता गरेनौं । हामीले दुवैलाई भनौं–हामी दुवैको साथ चाहन्छौं, दुनियाँ सबको साथ चाहन्छौं।’ 

प्रतिक्रिया

सम्बन्धित खवर