१९ वैशाख २०८१, बुधबार

भाग नमाग्‍ने प्रतिबद्धता गरेका शेखर र गगनबीच भागबण्डाको लडाइँ, भ्रातृसंस्था भद्रगोल

  • १३ भदौ २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूहरुले भागबण्डाको राजनीति अन्त्य गर्ने भन्दै चुनावमा होमिएको शेखर-गगन समूहभित्रै अहिले भागबण्डाको लडाइँ चलिरहेको छ। पार्टीको सभापतिमा पराजित भएका शेखर कोइराला र महामन्त्रीमा निर्वाचित भएका गगन थापाबीच नै अहिले भागबण्डाको लडाइँ चलेको हो। 

नेपाली कांग्रेसलाई देउवा र रामचन्द्र पौडेल समूहले भागबण्डाका आधारमा व्यवहार गरेको, पार्टी विधान बमोजिम चलाउन नसकेको, विभाग गठन गर्न नसकेको तथा भ्रातृसंस्थालाई कामविहीन बनाएको आरोप शेखर-गगन समूहले लगाउने गरेका थिए। तर, अहिले महामन्त्री जितेका गगन पनि आफ्नो भाग मिलाएर तै चुप मै चुपको अवस्थामा पुगेका छन्। 

देउवासँग मिलेर गगनले पनि आफ्नो भाग मिलाउने गरेको भन्दै शेखर कोइराला असन्तुष्ट बनेका हुन्। यसअघि शेखर समूहले बैठक नै बोलाएर देउवासँग ४० प्रतिशत माग माग्‍ने निर्णय नै गरेका थिए। त्यसैगरी भ्रातृसंस्था गठनमा पनि शेखरले आफूसँग सल्लाह नै नगरेको आरोप लगाएका थिए। 

तर, सभापति देउवाले भने यस विषयमा उनकै समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापासँग सल्लाह गरेका थिए। आफ्नो सल्लाहमा भ्रातृसंस्था गठन भएको भन्‍ने कुरा गगनले शेखरसँग लुकाएको उनकै समूहका एक नेताले बताएका छन्। ती नेताले भने, 'अहिले गगनजी र शेखर डा'साबबीच नै मनमुटावजस्तो देखिएको छ। गगनजी बाठो मान्छे सबैतिर मिलाएर आफूलाई नेता बनाउने लाइनमा पुग्‍नुभएको छ। उहाँ देउवासँग मिलिसक्नु भएको छ।' 

भ्रातृसंस्थाको यो अवस्था हुनुले कांग्रेसको नर्सरी मरेको देखिन्छ। यस्तो अवस्थामा शेखर र गगनबीच नै भागबण्डाको लडाइँ हुनु भनेको लाज पनि लजाएको अवस्था हो। हिजो मान्छेहरुलाई भ्रमित पार्नका लागि भागबण्डा गर्दिनँ, देउवाले बिगार्‍यो भन्‍ने अनि आज आफैं भागबण्डाको लडाइँले भ्रातृसंस्थालाई बन्धन बनाउन मिल्छ?

कांग्रेसका ११ भ्रातृसंस्थाको नियमित अधिवेशन नभएको वर्षौं भइसकेको छ। ती भ्रातृसंस्थाको म्याद पार्टीले पटक-पटक थपिदिएको छ। २०७७ साउन १६ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज गरी ९ वटा भ्रातृसंस्थाको म्याद ६ महिना थपेको थियो। तर, थपिएको समयभित्र ती भ्रातृसंस्थाको महाधिवेशन हुन सकेन। बरु त्यो म्याद पटक-पटक थपिँदै आएको छ।

शेखर र गगनबीचको जुँगाको लडाइँले भ्रातृसंस्थाको म्याद थप गरेर चुनाव गराउने समयावधिमा आफ्नो समूहबाट नाम नै दिएका छैनन्। शेखर र गगनले आफ्नो समूहबाट साझा नाम दिन नसकेपछि सभापति देउवाले भ्रातृसंस्थाहरुमा नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलमा विद्वान गुरुङ, नेपाल महिला संघमा उषा मिश्रलाई मनोनित गरेका थिए। 

त्यसपछि अहिले तत्कालका लागि पूरा कमिटी विस्तार गर्ने अथवा प्लेन कमिटी बनाएर महाधिवेशन गराउने भन्‍ने विषयमा सभापति देउवाले छलफल गरिरहेका छन्। यद्पि उक्त कमिटीमा आफ्नो समूहले पाउने भागमा पनि भागबण्डा हुनुपर्ने शेखर र गगनबीच विवाद चलिरहेको छ। 

राजनीतिक विश्लेषकहरुले भने कांग्रेसमा यस्तो प्रवृत्ति देखिनु लज्जाको विषय भएको टिप्पणी गरेका छन्। लोकतान्त्रिक दलमा आशा लागेको युवा पार्टी नेतृत्वमा पुगेको भन्दै खसी भइरहेको समयमा गगन र शेखरहरु नै आपसी लडाइँमा व्यस्त रहँदा कांग्रेसप्रति निराशा बढाउने काम भएको टिप्पणीहरु भइरहेका छन्। ‘भ्रातृसंस्थाको यो अवस्था हुनुले कांग्रेसको नर्सरी मरेको देखिन्छ। खेतमा बूढा रूख छन्। बिरुवा देखिए पनि ती प्राकृतिक छैनन्। बाहिरको प्लान्ट ल्याएर जबरजस्ती रोप्न खोजेको जस्तो देखिन्छ। क्रेनले जसरी बाहिरको सामान लोड गर्छ, त्यही प्रवृत्ति कांग्रेसमा छ। यस्तो अवस्थामा शेखर र गगनबीच नै भागबण्डाको लडाइँ हुनु भनेको लाज पनि लजाएको अवस्था हो। हिजो मान्छेहरुलाई भ्रमित पार्नका लागि भागबण्डा गर्दिनँ, देउवाले बिगार्‍यो भन्‍ने अनि आज आफैं भागबण्डाको लडाइँले भ्रातृसंस्थालाई बन्धन बनाउन मिल्छ?,’ एक राजनीतिक विश्‍लेषकले टिप्पणी गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर