काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारमा मंगलबार मन्त्री र सहसचिवहरूसँगको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारका कामहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।
त्यस अवसरमा देउवाले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न मन्त्रीहरूलाई सचेत गराए।
प्रधानमन्त्री देउवाले मुलुकको हितलाई सर्वोपरि हितमा राखी जनताको आकाङ्क्षालाई पुरा गर्नका लागि काम गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
‘आज मुख्यतयाः सबै मन्त्रीजीहरूले आ–आफ्नो मन्त्रालय र मुलुकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा धारणाहरू राख्नुभयो। र, मुलुकको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीजीले केही धारणाहरू राख्नुभएको छ,’ कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको हितलाई सर्वोपरी ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका निमित्त तपाईंहरू समर्पणका साथ अगाडि बढनुहोस् । अब हामी चाँडै नै चुनावको चरणमा प्रवेश गर्दैछौँ । त्यो कुरालाई पनि ध्यानमा राखेर तपाईंहरू अगाडि बढनुहोस् भनेर निर्देशन दिनुभएको छ ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation