९ कार्तिक २०८३, आइतबार

ओलीका गफ सुनाएर सकिँदै एमाले केन्द्रीय कमिटी, व्यक्तिले बोल्नै पाएनन्

  • ११ भदौ २०७९, शनिबार
Image

काठमाडौं- शुक्रबार सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार सकिँदैछ। यसअघि बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्‍न नपाएको गुनासो गरेका थिए। त्यसपछि एमालेको नेतृत्वले अर्को बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई बोल्‍न दिने बताइएको थियो। 

यद्पि यस केन्द्रीय कमिटी बैठकमा पनि केन्द्रीय सदस्यहरुलाई बोल्न दिइएन। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणासहितको राजनीतिक प्रतिवेदन पेश गरे। 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे भाषण गरेका थिए। 

उक्त प्रतिवेदनमाथि समूहगत छलफलका लागि विभिन्‍न नौवटा समूहरु बनाइयो। बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए। यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए। 

एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ। बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए। 

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर संकट निम्त्याएको उल्लेख छ। यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर