काठमाडौं- राहदानी (पासपोर्ट) लिनको लागि भोलि (मंगलबार)देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ। राहदानी विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।
यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।
केही दिन पहिले विभागले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको थियो।
राहदानीको बहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने हुन्छ। राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिने विभागले जनाएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation