विराटनगर- आपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरेर अपराधीलाई पक्राउ गर्न सफल इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षकलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ।
आज प्रदेश १ को प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायब उपरीक्षक रुगुमबहादुर कुँवरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
उनले दुई हप्ताअघि अर्जुनधारा नगरपालिका–४ जुकेखाडीस्थित कच्च सडकखण्डको ह्युमपाइपभित्र भारतीय नागरिकलाई मारेर बोरामा प्याक गरी फाल्ने अभियुक्तको पहिचान गरी पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको प्रदेश प्रहरी कार्यालयले ठहर गरेको छ।
प्रहरी नायब उपरीक्षक कुँवरले लागुऔषध, चोरी, तस्करीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी आम नागरिकमा सुरक्षामा प्रत्याभूति दिलाउने काममा अब्बल रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए।
पुरस्कारस्वरुप प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा उनको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट एक महिनासम्म राखिने प्रहरी प्रवक्ता राईको भनाइ छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation