काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्देशनपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
मुख्यमन्त्री राउतले सम्भवत: मंगलबार नै राजीनामा दिने एक मन्त्रीले जानकारी दिएका छन्। मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको बुझिएको छ।
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको ठहरपछि उनको पार्टी नेतृत्व मुख्यमन्त्री राउतबाट चिढिएको हो।
दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजारवटा साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौं तहका सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रक्रणको पनि अनुसन्धान थालेको छ। खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने संलग्न छन्।
तत्कालीन संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ (ख) मा निर्वाचित भएका राउत २ फागुन २०७४ मा मुख्यमन्त्री बनेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री बनेका उनी पछिल्लो एक वर्षदेखि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा मधेस सरकारको नेतृत्व गरिरहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation