काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक संयोजक चयन नै नगरी सकिएको छ।
मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि पास गरेको छ। ‘सभापति चयनका लागि सहमतिको प्रयास भयो,’ बैठकपछि नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
मंगलबार समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वका समितिको बैठक बसेको थियो। ज्येष्ठ सदस्य कर्णका अनुसार भोलि दिउँसो साढे २ बजे फेरि बैठक बस्नेछ। समिति सचिव सुरेन्द्र अर्यालले सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय पनि भएको जानकारी दिए।
‘सकेसम्म सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय भएको छ। अब अर्को बैठक (बुधबार दिउँसो साढे २ बजेसम्म) माननीय सदस्यहरूले आन्तरिक छलफल गरेर सहमतिको प्रयत्न गर्ने भन्ने भएको छ,’ सचिव अर्यालले भने । समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने समयावधि तोकिएको छ।
तोकिएको समयावधि मंगलबारबाटै सुरु भएको छ। अनधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दा प्रमुख विपक्षी एमालेले निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभाले २२ असारमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो।
समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन्। छानबिन गर्न समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा पदबाट राजीनामा दिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation