मस्को- रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको दाबी गरेको छ। उसले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु र २८ जना घाइते भएको बताएको हो।
सेनाका अनुसार डोनेस्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ।
युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ। रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ।
किभ इन्डिपेन्डेन्टले उल्लेख गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन्।
गत फेब्रुअरी २४ मा डोनेस्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको जनाएको छ।
रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ। यद्यपि पश्चिमी देशहरूले रुसीहरूको यी दाबीहरूलाई अस्वीकार गरेका छन्।
युद्धको विरोध गर्ने सम्पादक पक्राउ
यस्तै रुसको सरकारी टेलिभिजनबाट समाचार प्रस्तुत भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित स्टुडियोमै प्रदर्शन गर्ने समाचार सम्पादक पक्राउ परेकी छन्।
सोमबार बेलुकाको समाचार प्रसारण भइरहेका बेला राज्य नियन्त्रित च्यानल वान टेलिभिजनको स्टुडियोमा युद्ध विरोधी प्रदर्शन गर्ने समाचार सम्पादक मरिना ओभास्यानिकोभालाई पक्राउ गरेर मस्कोस्थित प्रहरी चौकीमा लगेको एबिसी डट नेटले जनाएको छ।
समाचार प्रस्तुतकर्ताको पछाडि युद्ध विरोधी नारा लेखिएको प्लेकार्ड स्पष्ट रुपमा देखिएको छ। सो प्लेकार्डमा ‘युद्ध चाहिँदैन, युद्ध रोक, प्रोपोगाण्डामा विश्वास नगर्नु होला, यिनीहरूले ढाँटिरहेका छन्’ लेखिएको छ। उनी अगोरा मानवअधिकारवादी समूहकी प्रमुखसमेत रहेको बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation