३१ असार २०८१, आइतबार

राप्रपामा बढ्दै असन्तुष्टि, अहंकार त्यागेर आउन रमा सिंहको अपिल

  • १४ फागुन २०७९, आइतबार
Image

काठमाडौं- सरकारमा सहभागी भएको छोटो समयमै मन्त्रीहरु बद्‌नाम हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हुने भन्दै आएका लिङ्देनसहितका मन्त्रीहरु विभिन्‍न भ्रष्टाचारका मुद्दामा मुछिन थालेपछि राप्रपाले सरकारबाट बाहिरिने उपयुक्त मौका पर्खिरहेको थियो। 

राप्रपाका लागि राष्ट्रपति निर्वाचनको मनोनयन दर्तामा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने विषयलाई बाहना बनाएर सरकारबाट बाहिरिएको छ। सरकारबाट बाहिरिएको राप्रपामा फागुन २५ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे दुई समूह छ।

सरकारमा सहभागी भएको र बाहिरिएको वास्तविक कारण बताउन नसकेका राप्रपाभित्र असन्तुष्टि चलिएको छ। यही समयमा दुर्गा प्रसाईं, रमा सिंहलगायतले सुरु गरेको सडक संघर्ष राप्रपाका लागि थप चुनौतीपूर्ण बनेको छ। 

यस्तो अवस्थामा राप्रपाका नेता-कार्यकर्ताहरुलाई आफ्नो अभियानमा सहभागी हुने रमा सिंहले अपिल गरेकी छन्। उनले भनेकी छन्, 'राप्रपाका राष्ट्रवादी मित्रहरु, अहंकार छोडौं र हामीसँग सडकमा जुटौं। तपाईं हाम्रो एउटै उद्देश्य पूरा भएपछि नेपाल अधिराज्यमा बसेर राजनीतिक जुँगाको लडाईं त फेरि लडौंला नि... हुन्‍न र?' 

रमा सिंह र दुर्गा प्रसाईंहरुले झापाबाट सुरु गरेको सडक आन्दोलन देशभरका प्रमुख सहरहरुमा भइरहेको छ। राजेन्द्र लिङ्‍देनले राजाको नाममा आफ्नो राजनीतिक स्वार्थ पूर्ति गरेको उनीहरुको ठहर रहेको छ। यता लिङ्देनले पनि प्रसाईंविरुद्ध आलोचना गरिरहेका छन्। 

प्रसाईंको आन्दोलनमा पूर्वाराज ज्ञानेन्द्र शाहको पनि नैतिक समर्थन रहेको देखिन्छ। राप्रपाभित्र असन्तुष्टि चुलिरहेको समयमा सुरु भएको नयाँ आन्दोलनले राप्रपालाई नै विभाजन गर्नसक्ने त्रास पैदा भएको छ। 

राप्रपाभित्र पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, जगत गौचनलगायतका दर्जनभन्दा बढी प्रभावशाली नेता राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा देखिएका छन्। महामन्त्री धवलशमशेर राणा पनि यही पङ्क्तिमा पर्ने एक नेताको दाबी छ । 

धवलशमशेरले यसअघि सरकारमा सहभागी हुने आकांक्षा देखाएका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई नपठाएर अरुलाई नै सरकारमा पठाएपछि अध्यक्ष लिङ्देनसँग उनले विमति राख्दै आएका छन्। 

अध्यक्ष लिङ्देनको कार्यशैली चित्त नबुझाएको र धोका पाएकाहरू उक्त आन्दोलनमा सहभागी हुनसक्ने आँकलन गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर