मस्को- रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। यो राजधानी किएभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो। आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ। घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन्।
'युक्रेनले आइतवार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ। अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो। आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ। विश्वका धनी राष्ट्रहरूको समूह जी सेभेनका नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन्।
'सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ। हामी सँगै रहनुपर्छ, अमेरिकी राष्ट्रपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शिखर सम्मेलन सुरु हुनुअघि भने।
'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि कुनै न कुनै रूपमा नेटो र जी सेभेन विभाजित हुने अपेक्षा गर्दै आएका छन्। तर हामी त्यस्तो गर्ने पक्षमा छैनौँ। त्यसैले हामीले आक्रामकताको यो स्वरूपलाई अस्तित्वमा रहन दिन र त्यसलाई त्यतिकै रहन दिन सक्दैनौँ,' राष्ट्रपति बाइडनले आफ्नो मत राखे।
शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल, पछिल्ला साताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताउँछन्। उनका अनुसार केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेका छन् भने अन्य केहीले युक्रेनलाई बलियो र दिगो साथ दिनु पर्नेमा जोड गरेका छन्।
तर बाभेरियामा भएको बैठकमा जी सेभेन नेताहरूको त्यस्ता विभाजनहरूको अन्त्य गर्न कटिबद्ध रहेको बीबीसी संवाददाता बताउँछन्।
किएभस्थित शिशु कक्षाको खेल मैदानमा ठूलो विस्फोट भएको थियो। त्यस नजिकै रहेको एक नौ तले भवनको माथिल्लो भाग ध्वस्त भएको थियो। विस्फोटमा परी घाइते बालिकाकी आमा जो एक रुसी नागरिक थिइन्, उनलाई त्यहाँको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको अधिकारीहरूले जानकारी दिए।
उनीहरूका अनुसार ती घाइते बालिकाको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ। युक्रेनी सेनाले टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। शनिवार सेनाले बताए अनुसार रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको थियो।
रुसी रक्षा मन्त्रालयले आइतवार किएभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation