८ कार्तिक २०८३, शनिबार

ओलीले भने- सेनाले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेखेको कुरा गुपचुप राख्यो

  • ३ असार २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन नेपालका तर्फबाट नेपाली सेनाले अमेरिकालाई पत्र लेखेको विषयमा आफू जानकार नभएको बताएका छन्। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेको पत्र सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले सो विषयमा प्रस्टीकरण दिएका हुन् । 

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको दोस्रो हप्तामै नेपाली सेनाले काठमाडौंस्थित अमेरिकी राजदूतलाई पत्र लेखेर एसपीपीमा सामेल हुन चाहेको बताएको थियो। एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको दुईदिने अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन ओलीले जनप्रतिनिधिलाई सम्बोधन गर्दै तत्कालीन सेनापतिले अमेरिकी राजदूतलाई पत्र लेखेको विषयमा आफूलाई जानकारी नदिइएको आरोप लगाए।

उनले भनेका छन्,  ‘हामीलाई कतै पनि बताइएन। असोज २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते शपथ लिएँ। तर, कात्तिक १० गते त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्।’

ओली असोज २४ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसको १५ दिनपछि सेनाले अमेरिकी राजदूतलाई पत्र लेखेको थियो। ओलीले सेनाले पत्र लेखेको विषय गुपचुप राखिएको समेत दाबी गरेका छन्।

उनले ‘प्रधानसेनापतिले राजदूतावासलाई पत्र नलेख्नुपर्ने भए पनि लेखिएको रहेछ भन्दै आश्चर्य प्रकट गरेका छन्।  उनले भनेका छन्, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला। तर, प्रधानसेनापति आफैँले लेखेको रहेछ। जबकि त्योभन्दा १५ दिनअगाडि म प्रधानमन्त्री भइसकेको छु। तर, त्यो कुरा बताइएन। गुपचुप नै राखियो।’

उनले अमेरिकासँगको एसपीपीमा सहभागी नुहने भनेर आफ्नो नेतृत्वको सरकारले टुङ्ग्याएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर