८ कार्तिक २०८३, शनिबार

बेपत्ता भएको तारा एयरको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

  • १६ जेठ २०७९, सोमबार
Image

काठमाडौं- आइतबार बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो। सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन्। खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमानको अवस्थाबारे केही जानकारी प्राप्त हुन सकेन।

विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ।  फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी भइरहेको छ। खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताउँछन्। 

म्याग्दीको शिखमाथिको आकाशमा पुगेपछि सम्पर्कविहीन विमान सुरुमा मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा पुगेर बेपत्ता भएको आशङ्का गरिएको थियो। सेनाले सो क्षेत्रमा मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरेको थियो।  सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजेका थिए। तर, विमान भेटिएन। 

लेते क्षेत्रमा फिस्टेल एयरको हेलिकप्टरले हवाई मार्गबाट पनि खोजी गरेको छ। विमान लेतेको टिटि ताल आसपास भएको आशङ्कामा सुरक्षाकर्मीहरूले स्थानीयसँग समन्वय गरेर सो क्षेत्रमा पनि खोजेका छन्। 

विमानको खोजीमा नेपाली सेनको मध्यकमाण्ड क्षेत्रका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ उद्धार टिमसँगै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा पुगेका थिए।  सेनाको एमआई–१७ हेलिकप्टर कोबाङमा अवतरण गरिएको थियो।  मौसम खराब भएपछि सो हेलिकप्टर जोमसोम फर्किएको छ।  विमान खोज्न स्थलमार्गबाट ४ वटा टिम परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए। 

आइतबार अबेर सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको गरेको थियो। स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए।  

प्रतिक्रिया

सम्बन्धित खवर